किरात राई कर्मचारी मञ्चको संक्षिप्त परिचय
नेपालको सार्वजनिक प्रशासनमा निजामती, सुरक्षा, सार्वजनिक संस्थान, प्रदेश तथा स्थानीय सेवालगायत
विभिन्न सरकारी सेवाहरू स्थापना तथा सञ्चालनमा रहेका छन् । सार्वजनिक प्रशासनमा हरेक समुदायको
प्रतिनिधित्व, पहुँच र सहभागिताको माग समयानुसार बढ्दै गयो । राज्यका विभिन्न निकायका विभिन्न
पद तथा श्रेणीमा प्रवेशका लागि लोक सेवा आयोगले लिने प्रतियोगितात्मक परीक्षामा किरात राई
समुदायका व्यक्तिहरू सक्रिय हुन थाले । यसरी सुरुमा किरात राई कर्मचारीहरूलाई एउटै संगठनमा
आबद्ध गरी किरात राई कर्मचारीहरूका साथै विभिन्न जातजातीहरूसँग आपसी सहयोग, सद्भाव र
सहकार्य गरी राष्ट्र निर्माणमा टेवा पुर्याउन वाञ्छनीय भएकोले किरात राई यायोक्खाको विधान, २०४७
को अधिनमा रही किरात राई यायोक्खाको भातृ संस्थाको रुपमा मिति २०६८।०२।२५ मा किरात
राई कर्मचारी मञ्चको विधान, २०६८ बमोजिम किरात राई कर्मचारी मञ्चको गठन भयो ।

उदेश्यहरु
📌 किरात राई कर्मचारीहरूबिच आपसी एकता, सदभाव र सहयोगको वातावरण बनाउने ।
📌 सार्वजनिक प्रशासनको क्षेत्रमा मानव संशाधन विकास, जनचेतना अभिवृद्धि गर्ने तथा सबलीकरणको कार्यक्रमहरू सञ्चालन गर्ने ।
📌 समुदायमा सशक्तीकरण, विकास निर्माण, अध्ययन अनुसन्धान र प्रकाशनलगायतका कार्यहरू गर्ने ।
📌 सार्वजनिक प्रशासनसँग सम्बन्धित विषयहरूमा सम्मेलन, गोष्ठी, छलफल, अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरी अनुभव आदान प्रदान गर्ने ।
📌 समग्र किरात राई कर्मचारीहरूको सुरक्षा, व्यवसायिक हक हित संरक्षण र प्रवर्द्धनका लागि क्रियाशील रहने ।
📌 मञ्चसँग भाइचारा कायम हुनसक्ने प्रकृतिका स्वेदशी तथा विदेशी संस्थाहरूसँग सम्बन्ध विस्तार गरी आपसी छलफल तथा अनुभव आदानप्रदान गर्ने ।
मञ्चको मुख्य कार्यभारहरू
१. जातिवादी भइने भ्रमः किरात राई कर्मचारी मञ्चमा संगठित भई क्रियाशील हुँदा संकीर्ण जातिवादी भइन्छ, आफ्ना सहकर्मी र सुपरिवेक्षकहरूका अगाडि गलत र फरक धारको भइन्छ, ट्रेड युनियनको विकृतिको भारी बोक्नु पर्दछ कि भन्ने भ्रमहरू केही राई तथा गैर राई कर्मचारीहरूमा रहेको पाइन्छ । यसलाई हामीले आमूलरुपमा तोड्न जरुरी छ । किरात राई कर्मचारी मञ्च कुनै जातिलाई विभेद र अन्याय गर्ने वा गराउने संगठन होइन । यसले कुनै जाति विशेषको विरोध र आलोचना पनि गर्दैन । यो सरकार वा सामूहिक सौदाबाजी गर्ने ट्रेड युनियन वा सोको न पक्षपाति हो न त विरोधी नै । यसले त केवल सामुदायिक सशक्तीकरण, जागरण, उत्थान एवम् सामाजिक कल्याण र सेवामा योगदान गर्दछ र त्यसप्रति संगठितरुपमा क्रियाशील रहन्छ ।
२. मञ्चमा लाग्दा वृत्ति विकासमा पछि परिने भ्रमः किरात राई कर्मचारी मञ्चमा संगठित भइ बैठक, कार्यक्रमहरूमा भाग लिँदा वा कुनै अभियान सञ्चालनमा क्रियाशील हुँदा व्यर्थ समयको बर्बादी हुन्छ, वृत्ति विकासमा लगाउनु पर्ने महत्त्वपूर्ण समय लगाउन पाइँदैन र स्रोतसाधनको दुरुपयोग भइ वृत्ति विकासमा पछि परिन्छ कि ? भन्ने केही किरात राई कर्मचारीहरूको मनमा भ्रमले डेरा जमाएको छ । जुन भ्रमलाई चिर्न आवश्यक देखिन्छ । वास्तवमा कुनै पनि संगठनमा क्रियाशील हुँदा समूहमा काम गर्ने बानीको विकास हुनुका साथै नेतृत्व विकास पनि हुन्छ । कुनै पनि समस्याको समाधानमा सहभागितामूलक अवधारणा अपनाउने अभ्यास हुनुका साथै व्यवस्थापकीय सीपको विकास हुन्छ । अझ किरात राई कर्मचारी मञ्चमा संगठित हुँदा त किरात राई यायोक्खा र यसका विभिन्न भातृ संस्थाहरू तथा भाषिक संस्थाहरूसँग जोडिन पुगिने भएकाले हामी कर्मचारीहरूको सेवाकालीन र अवकाशप्राप्त पछिको समयमा समेत समुदाय वा समाजसँग नजिकिने र सामाजिक सम्बन्धहरूलाई सुमधुर बनाउने मौका मिल्दछ । त्यसो त किरात राई कर्मचारी मञ्चमा लाग्दा वृत्ति विकासमा पछि परिने भ्रमलाई चिर्न यस संगठनमा लागेका अग्रज किरात राई कर्मचारीलाई हेर्दा नै काफी हुन्छ ।
मञ्चको मुख्य कार्यभारहरू
समुदायका धेरै मानिसहरूलाई सार्वजनिक सेवामा प्रवेश गराउन मद्दत गर्नेः नेपालको स्थायी सरकार भनेर चिनिने सार्वजनिक सेवा निजामती, सेना, प्रहरी, शिक्षण, संस्थान र अन्य सरकारी सेवामा किरात राई समुदायका धेरैभन्दा धेरै मानिसहरूलाई प्रवेश गराउन जनचेतना, सशक्तीकरण तथा विकास लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने, सेवारत कर्मचारीहरूको वृत्ति विकासमा सहयोग पुर्याउनेः सार्वजनिक सेवाअन्तर्गत विभिन्न सेवामा कार्यरत किरात राई कर्मचारीहरूलाई उनीहरूको वृत्ति पथमा अगाडि बढाउन आपसी छलफल, ज्ञान तथा अनुभव आदानप्रदान, सहयोग, समन्वय र सहकार्यजस्ता कार्यहरू गर्ने,
अवकाश प्राप्त कर्मचारीहरूलाई सम्मान गर्नेः आफ्नो लामो उर्वर समय राष्ट्र र जनताको सेवामा समर्पित गरी अवकाश हुने राष्ट्रसेवक किरात राई कर्मचारीहरूलाई सम्मानपूर्वक सम्झिरहने, उहाँहरूको ज्ञान, सीप र अनुभवलाई यथासम्भव सदुपयोग गर्ने वातावरण मिलाउने, उहाँहरूबाट प्रेरणा लिने, समुदायसँगको अन्तरघुलनसहित सामाजिकीकरणमा सहयोग पुर्याउने ।
ईतिहास
नेपालको सार्वजनिक प्रशासनमा किरात राई समुदायको उपस्थिति अभिवृद्धि गर्नका लागि किरात राई यायोक्खाले वि.सं. २०६४ सालदेखि नै लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्न सुरु गरेको थियो । पछि किरात राई कर्मचारी मञ्चको विधिवत स्थापनासँगै यी तयारी कक्षाहरू मञ्चले नै सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको छ ।
वि.सं. २०६७।१२।२१ गते तत्कालीन सहसचिव (हाल लोक सेवा आयोगका सदस्य) वीरबहादुर राईको संयोजकत्वमा ९ सदस्यीय किरात राई निजामती कर्मचारी समन्वय समिति गठन भएको थियो । यो नै किरात राई कर्मचारीहरूको लागि गठन भएको पहिलो समिति थियो । यो समितिले वि.सं. २०६८।०२।२५ गते उपसचिव माया राईको अध्यक्षतामा किरात राई कर्मचारी मञ्चको नाममा ९ जना कर्मचारी सदस्य रहने गरी अर्को समिति गठन गर्यो । तत्पश्चात मञ्चले निरन्तररुपमा विभिन्न गतिविधि गरिरहेको छ । मिति २०७३ साल पुष २७ गते सुम्निमा हल कोटेश्वरमा आयोजित किरात राई कर्मचारी मञ्चको तेस्रो भेलाले उपसचिव जीवन कुमार राईको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्य समिति गठन गर्यो । पछि मिति २०७७।११।२८ गते अनलाइन माध्यमबाट भएको चौथो केन्द्रीय सभाले उपसचिव खिलराज राईको अध्यक्षतामा २६ सदस्यीय हालको केन्द्रीय कार्य समिति गठन भएको हो ।
भावी कार्ययोजना
किरात राई कर्मचारी मञ्चको आगामी कार्ययोजना मूलतः माथि उल्लेख गरिएअनुसारका तीन कार्यभारहरूमा केन्द्रीय हुनेछ । उल्लिखित चुनौतीहरूलाई समेत मनन् गर्दै मञ्चको भावी कार्ययोजना देहाय बमोजिम रहेका छन्:-
📌 किरात राई कर्मचारीहरूको उपस्थिति रहेको सबै प्रदेश, जिल्ला र स्थानीय तहहरूमा क्रमशः संगठन विस्तार गर्दै जाने,
📌किरात राई कर्मचारीहरूको विवरण अद्यावधिक गर्ने,
📌किरात राई कर्मचारीहरूको वृत्ति विकासको प्रवर्द्धनका कार्यक्रमहरू लोक सेवा आयोग तयारी कक्षा, कार्यशाला, गोष्ठी, अभिमुखीकरण कार्यक्रम लगायतका कार्यहरू गर्ने,
📌किरात राई समुदायको उत्थान र विकासमा सहयोग पुर्याउने,
📌समुदायको हितका लागि अन्य समुदायका राष्ट्रसेवक कर्मचारीहरूसँग रणनीतिक साझेदारी तथा सहकार्य गर्ने र सहयोग आदानप्रदान गर्ने,
📌किरात राई कर्मचारीहरूको क्षमता विकास, नेतृत्व विकास तथा सामुदायिक भावना विकास गर्ने कार्यक्रम सञ्चालन गर्ने आदि ।


